नेपाल भर्खर जन्मिएको थियो– एकसूत्रमा आबद्ध राष्ट्रका रूपमा । नेपाली भर्खरै एउटै मालामा उनिएका सयौँ थुँगा फूल बन्न पाएका थिए । ताते, ताते गर्दै गरेको राष्ट्र अनेकौँ राजनीतिक हुरिबीचको बिरुवा जस्तो न थियो । अस्थिरता थियो, अनिश्चितता थियो । साशन र विकासको बाटो पहिल्याउन बाँकी नै थियो । एउटा राष्ट्रको जीवनमा सुरुका केही दशक के नै हो र ! यस्तो घना अन्धकारका बीच आफ्नो कुशलता, कर्मठता, बुद्धि र इमान्दारीका कारण प्रकाशमान उज्ज्वल नक्षत्रका रूपमा देखापरेका थिए मुख्तियार भीमसेन थापा, जसले अनेकौँ पर्वबीच अस्थिर र अति नै संवेदनशील अवस्थामा रहेको नेपाललाई एउटा सक्षम नेतृत्व प्रदान गरेका थिए ।
![]() |
भीमसेन थापा |
विक्रम संवत् १८३२ श्रावण ९ गते जनरल अमरसिंह थापा र सत्यरूपाका कोखमा जेठा पुत्र भई भीमसेन थापाको जन्म भएको थियो । बाल्यकालदेखि नै भीमसेन भीम झैँ थिए, बलिया र पुष्ट तर यिनको बुद्धि भने अर्जुनको जस्तो थियो– चलाख । भीमसेन थापाका पिता उच्चपदस्थ सैनिक अधिकृत ‘काजी’ भएकाले भीमसेन थापा पनि दरबारको नजिक हुने अवसर पाएका थिए । जसले गर्दा चौबीस वर्षको उमेरमा नै उनी रणबहादुर शाहका हजुरिया बने । उनले त्यसपछि दरबारका क्रियाकलापलाई नजिकैबाट नियाल्ने अवसर पाए । राजनीतिमा हुने तानातान र षड्यन्त्रहरूको गन्ध पनि बुझे र सँगसँगै त्यो परिवेश पनि पाए जसले उनमा निहित नेतृत्व कौशल्यले अनुभवरूपी मलजल पायो ।
रणवहादुर शाहका सल्लाहकारका रूपमा काम गर्दै जाँदा भीमसेन थापा उनका दाहिने हात सरह बनेका थिए । लहडी स्वभावका राजा रणबहादुरकी रानीको मृत्युपछि विक्रम संवत् १८५५ मा राजा वैरागी बनेर काशीतिर लागे । उनको साथमा भीमसेन पनि काशी गएका थिए । काशी प्रवास उनका निम्ति उपयोगी नै सिद्ध भयो । भीमसेन थापा बनारसमा रहँदा भारतीय राज्यहरूको आन्तरिक स्थिति, त्यहाँ अंग्रेजहरूले प्रवेश गर्नुको पृष्ठभूमि तथा उनीहरूको विस्तारवादी नीति आदि कुराको सूक्ष्म अवलोकन गर्ने अवसर मिल्यो । यसै बेला रणबहादुर शाहलाई बनारसमा नजरबन्द गर्ने सर्तमा दामोदर पाँडेले अंग्रेजसँग वाणिज्य सन्धी गरे । यस सन्धीलाई भङ्ग गराउन भीमसेन थापाले रणबहादुर शाहलाई सक्रिय हुने सल्लाह दिएका थिए । रणबहादुरको नजरबन्द फुकुवा गराई उनलाई नेपाल फर्काउने कार्यमा पनि उनी सफलता भए । यसपछि भीमसेन थापा राजनीतिमा अझ बढी सक्रिय भए । उनलाई काजी पदमा नियुक्त गरियो । त्यसबेला गीवार्णयुद्ध राजा र रणबहादुर मुख्तियार थिए तर राज्य ससचालनका सम्पूर्ण कार्यहरू उनकै परामर्श अनुसार हुने गर्थे । यसरी नेपालको राजनीतिमा भीमसेन थापा उदए । १८६३ मा रणबहादुरको हत्या उनकै विमातृ भाइ शेरबहादुर शाहले गरेपछि त्यसबेला काजी पदमा बहाल रहेका भीमसेन मुख्तियार (प्रधानमन्त्री) पदमा आसीन भए । यसरी मुख्तियार बनेका भीमसेन थापाले रणबहादुर, गीवार्णयुद्ध र राजेन्द्र विक्रम गरी शाहवंशीय राजाहरूको तीन पुस्तासम्म मुख्तियारको पदमा रहेर राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपाली इतिहासको अति नै संवेदनशील कालखण्डमा ३१ वर्षसम्म कार्यकारी जिम्मेवारीमा रहेर देशको बागडोर सम्हालेका थापाले राजनीतिक, आर्थिक र सामाजिक रूपमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
निर्माण कार्य
सर्वसाधारण नेपालीले भीमसेन थापा भन्नेबित्तिकै सबैभन्दा पहिले र सजिलैसँग धरहरालाई सम्झन्छन् । उनले विसं १८८२ मा बागदरबार नजिकै तत्कालीन महारानी ललितत्रिपुरा सुन्दरीको नाममा एउटा र आफ्नो नाममा एउटा गरी समानान्तर रूपमा दुईवटा धरहरा ठड्याएका थिए । भीमसेन थापाको कीर्तिका रूपमा भीमसेन स्तम्भका रूपमा परिचित धरहरा भने पछिल्लो पटक २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ । त्यस्तै उनले प्रसिद्ध धार्मिक स्थल पाल्पाको रिडीमा कलात्मक बंगला बनाएका थिए भने गोरखा बुँकोटमा बुढी गण्डकीको किनारमा महादेवको विशाल मन्दिर (भीमवीरेश्वर) बनाएका थिए ।
भीमसेन थापाको योगदानमा अमानवीय कमाराकमारी प्रथा उन्मूलन एक प्रमुख हो । धनी वर्गले गरिब परिवारलाई ऋण दिएर त्यसको बदलामा त्यस परिवारका छोराछोरीलाई विनापारिश्रमिक कमाराकमारी बनाउने चलनलाई थापाले वि.सं. १८८७ मा लालमोहरमार्फत प्रतिबन्धित गरे । उनको यो नीतिप्रति घरमा कमाराकमारी राख्ने परम्परा भएका भारदार, शक्तिशाली र सम्पन्न वर्ग आदि थापासँग निकै रुष्ट भए । त्यतिखेरको परिप्रेक्ष्यमा यो निकै ठूलो कदम थियो ।
त्यतिखेरको समाजमा दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नुपर्ने अत्यन्तै गलत चलन व्याप्त थियो । यसले समाजमा एकप्रकारको विकृति र परिवारमा विग्रहसमेत ल्याएको थियो । मुख्तियार थापाले विसं १८९३ मा लालमोहरमार्फत यो कुप्रथामाथि पनि प्रतिबन्ध लगाए । यसैगरी ब्राह्मण–क्षेत्री परिवारमा समेत प्रचलित मामा र फुपूका छोराछोरीबीच हुने विवाहलाई पनि उनले प्रतिबन्ध लगाए ।
समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहु–महाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने ‘बेठवेगार’ कुप्रथाको उन्मुलन पनि यिनले १८८७ मा एक लालमोहर जारी गरी गरे । यसबाट सर्वसाधारण श्रमिक वर्गलाई ठूलो राहत मिलेको थियो ।
कृषिप्रधान मुलुकको मर्मलाई ध्यानमा राखी जमिन र किसानलाई प्राथमिकता दिएर थापाले नयाँ थितिहरू बसालेका पाइन्छन् । जमिनको नापी, मालपोत निर्धारण, मोही र तलसिङबीच बाली लिनेदिने कुरामा हुने गरेको किचलो समाधान गर्न लालमोहर, नगद ऋणमा १० प्रतिशत र जिन्सीमा २५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने व्यवस्था, धानचामलको सरकारी मूल्य निर्धारण, भ्रष्टाचार नियन्त्रण प्रयास आदि उनका उल्लेखनीय आर्थिक सुधारका प्रयास हुन् ।
जनरल र कमाण्डर चिफजस्ता सेनाका उच्चतम दर्जामा पुग्न सफल थापाले सेनाको आधुनिकीकरण पनि गरेका थिए । नेपालमाथी अंग्रेजहरूले आक्रमण गरेका खण्डमा प्रत्याक्रमण गर्ने तयारीमा रहेका उनले देशको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई बचाइराख्ने उद्देश्यले सेनालाई आधुनिक तालिम, पोसाक, ब्यारेक, युद्धमा जाँदा भरिया दिने आदिको व्यवस्था गरे ।
विश्वका कयौँ देशलाई साम्राज्यवादी मुखले निल्दै आएको अंग्रेज शक्ति नेपालप्रति पनि लोभिएको थियो । कहिले इसाई धर्मको प्रचारक पठाएर त कहिले सोझै सेना पठाएर नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्ने प्रयासमा थियो अंग्रेजी साम्राज्य । अंग्रेजी सत्तालाई एसियाबाट नै धपाउनुपर्छ भन्ने ध्येय बोकेका भीमसेन थापालाई विसं १८३२ मा भएको नेपाल–अङ्ग्रेज युद्धका क्रममा सुगौली सन्धिमा नमीठो ठक्कर खानुपर्यो । एकीकरण अभियानमार्फत नेपालले जितेको एक तिहाइ भूभाग गुमाउनु पर्यो । त्यो क्षति व्यहोरेर भए पनि थापाले राष्ट्रको मूल भूभाग र स्वाधीनता भने जोगाइराखे । त्यसैलाई स्मरण गर्दै श्री ३ चन्द्र शम्शेर जबराले ‘एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो’ भनेका छन् ।
नैतिकता, मर्यादा, आँट, सहास र धैर्यका प्रतिमूर्ति भीमसेन थापाले दरबारिया षड्यन्त्रका कारण जेलमा परेका बेला आत्महत्या गरे । नेपाल आमाका यी महान् सपुतले देश र जनताका लागि पुर्याएको योगदानका कारण उनलाई राष्ट्रिय विभूतिका रूपमा हामी स्मरण गर्दछौँ ।
Comments
Post a Comment