प्रकृतिको अनुपम वरदान प्राप्त छ नेपाल जननीलाई । विश्वकै लागि रमणीय र भ्रमणीय ठाउँ छन् यहाँ । तीर्थ पर्यटकहरूका लागि पनि आकर्षक गन्तव्यहरू छन्, कतिपय प्रचार–प्रसारमा आएका, कतिपय आउन बाँकी । यस्तै कम प्रचार–प्रसार भएको मनोरम गन्तव्य हो स्वर्गद्वारी ।
प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारी शान्त, उच्च, मनोहर तपोभूमि भनेर चिनिन्छ । तिर्थाटनसँगै घुमघामको उद्देश्य लिएर यहाँ वार्षिक हजारौं तीर्थालु पर्यटक आइपुग्छन् । आन्तरिक पर्यटनका लागि एउटा आकर्षक गन्तव्य हो स्वर्गद्वारी । स्वदेशीमात्र होइन, भारतबाट समेत ठूलो संख्यामा तीर्थालु पर्यटकहरू स्वर्गद्वारी पुग्ने गरेका छन् । स्वर्गद्वारी आश्रमको स्थापना वि.सं. १९५१ मा बालतपस्वी महाप्रभुबाट भएको हो ।
विशेषता — यहाँ एक सय वर्षभन्दा अघि बालतपस्वी महाप्रभुद्वारा स्थापना गरिएको यज्ञकुण्डको अग्नि निरन्तर अवच्छिन्न प्रज्वलित छ । महाप्रभुले विश्व कल्याणको कामनाले प्रारम्भ गर्नुभएको अखण्ड महायज्ञ स्वर्गद्वारीको मुख्य दर्शनीय स्थल हो । यसर्थ यो एउटा यज्ञस्थली पनि हो । २४ जना ब्राह्मणद्वारा नियमित वेदपाठ भइरहने, महायज्ञमा अखण्ड हवन भइरहने, गुरुकुल शिक्षाले पाएको निरन्तरता, पाँच सयभन्दा बढी गाईपालन गरिएको र तिनकै पञ्चामृतद्वारा यज्ञको हवन, पुजन एवं विविध व्यवस्थापन हुनुले यो ठाउँ धर्म र कर्म दुवै पक्ष उत्तिकै प्रबल र सफल भएको अनुपम उदाहरण हो । देवशाला, वेदशाला (बाल तपस्वी वेद विद्यालय गुरुकुलम्), धर्मशाला एवं गौशाला भएको पावन भूमि हो स्वर्गद्वारी । प्राचीन समयदेखि नै स्वर्गद्वारी क्षेत्र यज्ञभूमिको रुपमा विख्यात रहेको मान्यता छ । वेदव्यास जस्ता महर्षिहरूले यही ठाउँमा ठूलाठूला यज्ञ गरेका थिए र महाभारतका प्रसिद्ध पाँच पाण्डवले पनि यही ठाउँमा तपस्या गरेर स्वर्गतर्फ प्रस्थान गरेको जनश्रुति प्राचीन कालदेखि नै चल्दै आएको छ । यस आश्रम स्थललाई ज्ञानभूमि, कर्मभूमि, साधनाभूमिको त्रिवेणी मान्न सकिन्छ ।
अवस्थिति— पहाडको टाकुरामा वरिपरि जंगल र थुम्कोमा अवस्थित मुख्य मन्दिर – यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भनिन्छ । समुद्र सतह देखि ७००० फीटको उचाइमा २६०० रोपनी क्षेत्रफलमा अवस्थित छ यो आश्रम । मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका अर्चा प्रतिमा र मन्दिरहरु बनाइएका छन् । अखण्ड महायज्ञशाला, शिवालय, पाञ्चायन मन्दिर, नारायण सरोवर यहाँ दर्शनीय छन् । मन्दिर आउने दर्शनार्थी भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।
प्राकृतिक दिव्यता – स्वर्गद्वारी धार्मिक हिसावले जति महत्वपूर्ण छ, प्राकृतिक सुन्दरताले पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल—अन्नपूर्ण, धौलागिरी, मनास्लु र अन्य दर्जनौं हिम शृंखला हेर्न पाइन्छ । विशेष गरी धौलागिरिलाई नजिकबाट नियाल्न स्वर्गद्वारी उपयुक्त स्थान हो । प्राकृतिक उल्लासले भरिपूर्ण बनाउन लालीगुराँस, साल, साज, काफल, जामुनो, चुत्रो, देवदारु, बाँस, बाँझजस्ता वनस्पतिले शोभायमान छ यहाँको वन । फागुन–चैतमा जाँदा राताम्मे फूलेका गुराँस देख्न सकिन्छ । कृष्णसार, चित्तल, दुम्सी, बाघ, भालु आदि जन्तु भएको रमणीय ठाउँ मानिन्छ, स्वर्गद्वारी ।
कसरी पुग्ने ?
नेपालगञ्जबाट रोल्पा चल्ने बसमा प्युठानको भिङ्गृसम्म सार्वजनिक बसमा जान सकिन्छ । भिंगृबाट साढे १३ किलोमिटर कच्ची बाटोको यात्रा र त्यसपछि डेढ किलोमिटर सिँढी उक्लिएपछि स्वर्गद्वारी आश्रम पुगिन्छ ।
वेदमन्त्रबाट समुत्पन्न अग्निदेवको दर्शन, स्वाहाकारका गगनभेदी नाद र मनले चिताएको कामना पूरा हुनुले यात्रीको आकर्षण स्वर्गद्वारीप्रति वृद्धि हुनु स्वाभाविक हो । भौतिक पूर्वाधार र अन्य सुविधा नभए पनि आस्थाका लागि तीर्थालु यहाँ पुग्ने गरेकै छन् । पर्यटकीय पूर्वाधार अभावले स्वर्गद्वारीको अपेक्षित विकास हुन नसकेको सरोकारवालाहरुले महसुस गर्न थालेका छन् । मुख्यतः स्थानीय तहमा सरोकारवालाबीच उचित समन्वयको कमी, स्वर्गद्वारी विकासको मुद्दा सरकारको प्राथमिकतामा नपर्नु र कठिन भौगोलिक अवस्थितिका कारण यो क्षेत्रले विकासको गति लिन नसकेको आममानिसको बुझाइ छ । प्राचीन आध्यात्मिक परिवेशलाई अक्षुण्ण राख्दै स्वर्गद्वारी आश्रमका सम्पूर्ण भौतिक— जमिन, खेत आदिको सरकारद्वारा पूर्ण संरक्षण गरेर भक्तजनलाई सर्वसुलभ सेवा विस्तार गरेमा स्वर्गद्वारी विश्वकै अनुपम तीर्थक्षेत्रको रूपमा विकसित हुनेछ । धार्मिक–सांस्कृतिक वैभवलाई राष्ट्रले प्राथमिकतामा राखेर सुधार र प्रचार गर्न सके मुलुकका यस्ता अद्वितीय गन्तव्यले वाञ्छित लाभ लिन सक्ने देखिन्छ ।
सनातन धर्म नेपालीको परम्परागत धर्म हो । नेपालकै कन्दराबाट महर्षिहरूले यसको वैज्ञानिकता र महानता प्रमाणित गरेका हुन् । यो धर्मको मूलस्वरूपलाई जोगाउँदै आएको स्वर्गद्वारी आश्रमको संरक्षण गर्नु आम नेपालीको दायित्व हो ।
Comments
Post a Comment