नौ साधन् कि त भक्ति छन् ति नवमा पैल्हे त सत्संग हो ।
पैल्हे साधन पो भयो पनि भन्या बाँकी रह्याका ति जो ।।
आठ् साधन्हरु हुन् ति ता क्रमसितै मिल्छन् असल् सङ्गले ।
सत्को सङ्ग भया सबै बनि गयो क्या हुन्छ कुन् सङ्गले ।।
सबरीका अघि श्रीरामलाई यसरी भक्तिको तत्व खोल्न लाउने नेपाली साहित्याकासका उज्ज्वल भानु हुन् भानुभक्त आचार्य । श्रीरामगाथालाई नेपाली भाषामा लेखेर नेपाली साहित्यको मुहान् खोलीदिने कविवरलाई नेपाली मनले ‘आदिकवि’ भनेर चिनेको छ । नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गर्ने देदिप्य भास्कर हुन् साहित्यिक विभूति भानुभक्त आचार्य ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTUF6SOuFeZmPg9lmvdyu2bFwcjxmqFR1y1wbb8GryI2k3RVBorZHUJJVB2W2SpiN2-Rs3PS2jBguR-qJXEUw7Spkac2UkYoESjXOverwJXHa0YNeQpaTONT7ovV8pzrLO715RnJV635Cr/s400/Bhanubhakta_Acharya+%25281%2529.jpg)
पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच वर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमी ‘श्रीपञ्चमी’का दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए । उहाँबाटै भानुभक्तले संस्कृत साहित्य र व्याकरणको प्रारम्भिक शिक्षा पाएका थिए । भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बर्चस्व थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिइन्थ्यो, तर भानुभक्त संस्कृतका अध्येता भएर पनि यिनले नेपाली भाषामा साहित्य लेखे । उनको नेपाली भाषामा साँच्चिकै मोह थियो । त्यसैमा उनिएर उनले किशोरावस्थामा नै नेपाली भाषामा कविता कोर्न थालेका थिए । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए भन्ने प्रसङ्ग पनि प्रसिद्ध छ ः
पहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।।
भानुभक्तको बिहे एघार वर्षको उमेरमा भयो । पत्नीको असामयिक निधनपछि चौध वर्षको उमेरमा तनहुँका विद्याधर खनालकी छोरी दश वर्षीया चन्द्रकलादेवीसँग उनको दोस्रो बिहे भएको थियो ।
जीवनको अन्तिम घडीमा काशीवास गर्ने हजुरबुवाको इच्छा थियो । भानुभक्त पनि हजुरबुवा श्रीकृष्णको चोरऔँलो समातेर काशी गए । वि.सं. १८८९ तिर श्रीकृष्णले काशीमा देह त्याग गरेपछि भानुभक्त आफ्नो गाउँ फर्के । काशीबाट आफ्नो गाउँ फर्कँदा यिनी १९ वर्षका लक्का जवान भई सकेका थिए । काशीवासको समयमा उनले त्यहाँ तर्कशास्त्र र वेदान्तलगायतका शास्त्रीय अध्ययन समेत गरेका थिए । हजुरबुवा शंकराचार्यका ‘प्रश्नोत्तरी’ नित्य पाठ गर्दथे । त्यही पाठको असर हामी ‘प्रश्नोत्तरमाला’ रचनामा पाउँछौँ । त्यहाँ विद्वान्हरुका संगतले यिनमा गजबको कवित्व शक्ति जागृत भई सकेको थियो । समय पाउना साथ प्रसङ्ग अनुसार रमाइला फुटकर रचनाहरु गरी हाल्दथे ।
रामायण लेख्ने प्रेरणा
भानुभक्त सानैदेखि बौद्धिक चेतनाका धनी थिए । सबैभन्दा ठूलो कुरा उनी लेखेर थाक्तैनथे । त्यस युगमा यिनले जति लेखे, धेरै लेखे । यिनले लेखेको पाण्डुलिपिलाई प्रकाशनमा ल्याएर यिनलाई चम्काउने काम भने मोतीराम भट्टले नै गरे । कालजयी कृति लेख्नुपर्छ भन्ने चेतना कहाँबाट पह्लायो भन्ने विषयमा घाँस–भानुभक्त संवादको प्रसङ्ग सुपरिचित छ नेपाली साहित्य जगतमा ।
भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।
अविवादित छैन यो प्रसङ्ग, तर चिरसिञ्चित भइसकेको छ हाम्रो साहित्य जगतमा ।
मोतीराम भट्टका अनुसार भानुभक्त जागिरे थिए । ३७ वर्ष ढल्केपछि भानुभक्तले सरकारी जागिर पाए । जागिरे भएपछि उनका हाकिमले उनको खेदो गर्न थाले र दुई वर्षमा नै उनको जागिर खोसिदिए । त्यतिले मात्र नपुगेर ती हाकिमले उनलाई रकम हिनामिना गर्ने भ्रष्टाचारी भनेरै पोलिदिए । त्यसपछि उनलाई कुमारीचोकको खोरमा थुनियो तर त्यो कैद उनका लागि वरदान बन्यो । उनले त्यहाँ अध्यात्म रामायणको अयोध्या, अरण्य, किष्किन्धा र सुन्दरकाण्डको पद्य अनुवाद गरे । त्यतिबेला उनी त्यहाँ पाँच महिना थुनिएका थिए । यस प्रसङ्गबारे लक्ष्मीप्रसाद देवकोटाका शब्दहरु सापटी लिन सहज हुन्छ– “उनी संसारको कारागारमा रामायण लेख्थे तर उनको आत्मा जेल बाहिर थियो ।”
भानुभक्तले नेपाली भाषामा रामायण लेख्नुभन्दा अघि नेपाली समाजमा संस्कृतका पुराणहरू मात्र पढिन्थे । वास्तवमा त्यतिखेर संस्कृतका पुस्तक सबैले पढ्न पनि सक्तैनथे । नेपाली भाषामा रामायण आएपछि नेपाली जनजनका घरमा यो कृति पुग्न थाल्यो । यसपछि मात्रै सबै नरनारी र सबै जातजातिले बराबरी रूपमा रामायण पढ्ने मौका पाए । भानुभक्तले नेपालीमा रामायणलाई स्थापित गरे, रामायणका कारणले सधैंसधैंका लागि नेपाली मानसमा उनी पनि स्थापित भए ।
भाषिक र जातीय विविधतायुक्त नेपाल राष्ट्रको भाषिक एकीकरण गराउने कार्य भानुभक्तले नै गरे भने, नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले धक फुकाएर भानुभक्तलाई उच्च सम्मान दिएका थिए । सिर्जनालाई जनसमक्ष पस्केर मोतीरामले नेपाली भाषालाई ठूलो गुन लगाए ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । रामायणका साथै प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा नामक कृतिहरू पनि लेखे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
उनको रामायणबारे महाकवि देवकोटा लेख्छन्— “हामीलाई प्राचीनकालमा घुसेजस्तो लाग्दछ, जहाँ रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन् । मान्छे उनलाई अनुवाद तुल्याउँछन् तर हामी अनुवाद देख्तैछौँ— पुराना ऋषिहरूका प्रतिध्वनि ।”
भानुभक्त आचार्यलाई चउन्न वर्षको अल्पायुमै कालज्वरले मरणासन्न पारेको थियो । जीवनको त्यस अन्तिम घडीमा पनि उनी रचनामा लागिरहे । खास गरेर उनले आफ्ना हितैसी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तरकाण्डको ‘रामगीता’को पनि नेपालीभाषामा भावानुवाद गरे । सकिनसकी पनि उनले आफ्नो जीवनको अन्त्यमा आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाएरै छाडे । अनि त्यस कृतिको आविष्कार भएपछि १९२५ साल असोज ६ गते आइतवार आश्विन शुक्लपञ्चमीका दिन मस्र्याङ्दी नदीको किनारमा उनले आफ्ना भौतिक आँखा चिम्लेका थिए । आदिकवि भानुभक्त आचार्य नेपाली संसारमा चिरञ्जीवी भए ।
Comments
Post a Comment